

विराटनगर । विराटनगर भन्सारले भन्सार जाँचपासका लागि सहजीकरण गर्नका लागि भन्सार विभागले स्वीकृति दिएका भन्सार एजेन्ट कृष्णबहादुर थापालाई निलम्बन गरेको छ । विराटनगर भन्सारमा भन्सार एजेन्टको रूपमा काम गर्दै आएका थापाले आफू सञ्चालक भएर पूर्णकृष्ण ट्रेडर्स नामबाट कम्पनी दर्ता गरी भन्सार एजेन्टको लगिन नम्बर ३९२ बाट भन्सार जाँचपास गर्दै आएका थिए ।
भन्सार एजेन्ट थापाले केही समय अगाडिदेखि नै केही कर्मचारीको मिलोमत्तोमा लाखौँ राजस्व बुझाउने सामानको कम मूल्याङ्कन गरी एक प्रतिशत मात्रै राजस्व बुझाएर सामान भन्सार पास गर्ने गरेको पाइएपछि विराटनगर भन्सारले निलम्बन गरेको हो । साथै, थापाले भन्सार विभागबाट पाएको भन्सार जाँचपास गर्ने लगिन नम्बर ३९२ पनि भन्सार विभागबाट रोक्का गरी एजेन्ट थापालाई कारबाही गरेको दाबी स्रोतले गरेको छ । अब भन्सारमा भन्सार एजेन्ट थापाले दुई महिनासम्म कुनै पनि मालसामान जाँचपास गर्न पाउने छैनन् । भन्सार प्रमुखले छ महिना निलम्बन गर्ने तयारी गरिरहेका बेला केही अन्य चर्चित भन्सार एजेन्टहरू थापालाई बचाउनका लागि प्रमुख कहाँ अनुनय विनय गर्न पुगेकाले केही कारबाही कम गरिएको जनाइएको छ । प्रमुख भन्सार अधिकृतले भन्सार एजेन्टलाई उन्मुक्ति दिन नहुने भन्दै दुई महिनासम्म भन्सार एजेन्टको लगइन बन्द गर्ने र एजेन्ट थापालाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
पछिल्लो विराटनगर भन्सारमा घटेको घटनासँगै भन्सार एजेन्ट कृष्ण बहादुर थापाका विषयमा अहिले टीकाटिप्पणी समेत सुरु भएको छ । एजेन्ट थापाले छोटो समयमा राम्रो कमाउन सफल भन्सार एजेन्टको दर्जामा रहेको स्रोतको दाबी छ । त्यसैगरी उनले आन्तरिक राजस्व कार्यालयलाई समेत आफ्नो नाममा दर्ता कायम रहेको पूर्णकृष्ण ट्रेडर्सको कारोबारी विवरण झूटो बुझाएर राजस्व ठगी गरिरहेको पाइएको छ । उनले आन्तरिक राजस्व कार्यालय विराटनगरलाई आयकरवापतको राजस्वमा व्यापक अनियमितता गरेको दाबी स्रोतले गरेको छ ।
गत हप्तामात्रै विराटनगर भन्सारबाट एक प्रतिशत भन्सार मूल्यमा कृषि उपकरण भन्दै भेनियर(प्लार्ई) कटिङ मेसिन उनै भन्सार एजेन्ट कृष्णबहादुर थापाले जाँचपास गराउने पटक–पटक प्रयास गरेपछि प्रज्ञापनपत्र नै दर्ता गरी भन्सारको सिस्टममा पुगेपछि भन्सार एजेन्ट कारबाहीको भागिदार भएको खुलेको हो । उक्त मेसिन विराटनगरमा रहेको प्रदिप काष्ठ उद्योगले सञ्चालनमा ल्याउन लागेको भेनियर(प्लाई) को कटिङ मेसिन १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्ने ठाउँमा एक प्रतिशत भन्सारबाट एजेन्ट थापाले भन्सार जाँचपास गर्ने प्रयास गरेका थिए ।