कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले सबै प्रहरी अधिकृतहरुले आ–आफ्नो पदीय दायित्व अनुसार अनुशासित र कर्तव्यनिष्ट भएर त्रृटीरहित ढङ्गबाट कार्य सम्पादन गर्न र आइपर्ने चुनौतीहरुलाई आफ्नो जिम्मेवारीको रुपमा लिएर शान्ति सुरक्षा अभियानमा प्रतिवद्ध रहन निर्देशन दिनुभएको छ ।
कोशी प्रदेशमा रहेका सबै १४ जिल्लाका प्रहरी प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी तथा तराई क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय (क) का प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सो निर्देशन दिनुभएको हो ।
प्रहरी नायब महानिरीक्षक अधिकारीले सवारी दुर्घटना, साईबर अपराध, लागूऔषधको प्रयोग तथा ओसारपसार, ठगी, चोरी तस्करी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न प्रहरीले योजनाबद्ध रुपमा दत्त चित्त भएर लाग्नुपर्ने पनि बताउनुभयो ।
यसैगरी उँहाले सत्य सेवा सुरक्षणमको मुल मन्त्रलाई शिरोधार्य गरेर सकारात्मक सोचलाई आफूलाई समर्पण गरेर समाजका लागि परिचालित हुनुपर्ने बताउनुभयो । उहाँले कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्न र भए गरेको कार्य प्रगति विवरण समयमै जाहेर गर्न पनि कार्यालय प्रमुखहरुलाइ निर्देशन दिनुभएको छ । सो अबसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।यसैबिच, प्रहरी नायब महानिरीक्षक अधिकारीले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा सञ्चालन हुने “४२ औँ आई.जि.पि. रनिङ शिल्ड” पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीताका लागि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै जान लाग्नु भएका प्रहरी खेलाडीहरुलाई हौसलासहित सफलताको शुभकामना प्रदान गर्नुभएको छ