०५ चैत्र २०८१, बुधबार

पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ : मुख्यमन्त्री कार्की

Logo
News बुधबार, पुष १०, २०८१
विराटनगर,कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने धारणा राखेका छन्।
आज नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण समारोहमा उनले पेसागत रूपमा स्वतन्त्र भई पत्रकारले स्वच्छ र मर्यादित पत्रकारिता गर्नुपर्ने भन्दै यसले समृद्ध मुलुक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
मुख्यमन्त्री कार्कीले पत्रकारको सामूहिक हकहित र अधिकारको रक्षा गर्ने संस्थाका रूपमा रहेको पत्रकार महासङ्घको निर्वाचन खर्चिलो बन्न नहुने भन्दै सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छान्नुपर्नेमा जोड दिए । उनले विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारिता क्षेत्र सत्यतथ्यमा आधारित हुनुपर्ने बताउँदै संविधानको सर्वोच्चता, मानव अधिकार, लोकतन्त्रको रक्षाका लागि पत्रकारिता सहयोगी हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीसँगै सरकारले थप विधेयक सदनमा ल्याउन लागेको जानकारी दिँदै पत्रकारहरूको वृत्ति विकासका लागि लेखन, अनुसन्धान र खोजमूलक सामग्रीको प्रकाशन, सीप विकाससम्बन्धी तालिमलगायत व्यवस्थापन गरिने उल्लेख गरे।
उनले विधि र प्रक्रिया मिचेर प्रदेश सरकारले कुनै पनि काम नगर्ने भन्दै आफ्नै लगानीमा प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी भइरहेको उल्लेख गर्दै लगानी सम्मेलनबाट कृषि, पर्यटन र उर्जाका क्षेत्रमा रु ५० अर्ब भित्रने अनुमान गरिएको उनले बताए ।
मुख्यमन्त्री कार्कीले भने, “प्रदेश सरकारले लागानी सम्मेलन गरेपछि पर्यटन वर्ष र अन्तर्राष्ट्रिय चिया सम्मेलन भव्यताका साथ सम्पन्न गर्न आवश्यक विधिका साथ तयारी गरिरहेको छ ।” प्रदेश सरकारले केही वर्ष पहिला पत्रकार उपचार कोषमा रु १० लाख जम्मा गरिसकेको बताउँदै चालु आर्थिक वर्षमा प्रदेशमा १७ दशमलव पाँच प्रतिशत आन्तरिक आय वृद्धि भएको जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका कार्यवाहक अध्यक्ष मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका कोशी प्रदेशका संस्थापक अध्यक्ष एवं मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिका सदस्य शङ्कर खरेल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशिला पाठक, पत्रकार मोहन भण्डारी, नवराज कट्टेल, लीला बल्लभ घिमिरे, यज्ञ शर्मालगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१