
विराटनगर,सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले समानता र समावेशिताको विषय सिद्धान्तमा मात्रै नभइ व्यावहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छन् । नेपाल बार एशोसिएशन कानुन व्यवसायी महिलाको ३१औँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले व्यवहारिक रुपम कार्यान्वयन नभएसम्म सिद्धान्तले मात्रै अर्थ नराख्ने बताइन ।
कानुन परिवर्तनका वाहक महिला कानुन व्यवसायीले आफ्ना क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै लैजानुपर्ने सुझाव दिँदै उनले महिला कानुन व्यवसायीलाई अगाडि ल्याउन अदालतमा पहिलो बहस महिलालाई दिनुपर्ने धारणा राखिन। उनले भनिन्, “न्यायपरिषद् निष्पक्ष र स्वतन्त्र छ, महिला कानुन व्यवसायीले आफ्नो क्षमता आफैँले उजागार गर्न क्षमता र दक्षतालाई निर्खानुपर्ने आवश्यकता छ ।”
उनले मुद्दा मेलमिलापको नीति अदालतले अपनाएपछि धेरै मुद्दाहरु सोही विधिमार्फत राफसाफ हुने भएकाले यसलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे। अदालत अहिले प्रविधियुक्त्त बन्दै गएकाले सबै कानुन व्यवसायीहरु प्रविधिमा जोडिन आवश्यक भएको उनको भनाइ थियो ।
सर्वोच्च अदालतको न्यायाधीश सारङ्गा सुवेदीले आफू अनुकूल फैसला भएमा मात्र न्याय हुने सोचमा परिवर्तन हुन जरुरी भएको बताइन । न्याय सम्पादनमा असर पर्न नदिन कानुन व्यवसायीले आफ्ना कमी कमजोरीलाई हटाउनुपर्ने उनको भनाइ थियो ।