

विराटनगर । राजस्व अनुुसन्धान कार्यालय सुुनसरीले विराटनगरबाट म्याद सकिएको खाद्यपूरक सामग्री (न्युट्रास्युटिकल)मा नयाँ उत्पादन मिति राखेर बिक्रीको लागि बजारमा पठाउने तयारी अवस्थामा रहेको एक गोदाममा छापा मारी ठूलो परिमाणमा बरामद गरेको छ ।
न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झाले बजारमा पठाउन तयारी अवस्थामा स्टोर गरेर राखेको भन्ने सुुराकी आएपछि राजस्वले छापा मारेको हो । विराटनगर महानगरपालिका वडा नम्बर ६ भूमि मार्गमा तीन तलाको आफ्नै घरको गोदाममा अध्यक्ष झाले म्याद सकिएको न्युट्रास्युटिकलमा नयाँ लेभल लगाएर बिक्री वितरणको लागि बजारमा पठाउने गरेको सप्रमाण फेला पारेको राजस्व अनुसन्धान अधिकृत सरोज कोइरालाले जानकारी दिए । मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीको टोलीले संयुक्तरूपमा अध्यक्ष झाको घरमा छापा हानेर न्युट्रास्युटिकल बरामद गरेको थियो ।
झाले न्युट्रास्युटिकल बजार पठाउनको लागि तीन तलाको घरको भुईँतला र दोस्रो तलाका तीन वटा कोठालाई गोदाम बनाएको अनुुसन्धानको टोलीले फेला पारेको थियो । उक्त गोदामबाट धेरै नै न्युट्रास्युटिकल र अन्य विभिन्न कम्पनीको मल्टिभिटामिनहरू फेला पारेको अधिकृत कोइरालाले जानकारी दिए । यसरी राजस्व कार्यालय इटहरीको अनुसन्धान अधिकृतको टोलीले झाको घरमा छापा हानेर म्याद सकिएको खाद्यपूरक सामग्री बरामद गरेको हो । उक्त टोलीले खाद्यपूरक सामग्रीमा छाप लगाउने स्ट्याप पनि बरामद गरेको थियो । बरामद गरेको खाद्यपूरक सामग्रीहरूको अहिलेसम्म बिलबिजक नदेखिएकाले भन्सार छलेर आयात गरेको आशंका पनि अनुसन्धान अधिकृत कोइरालाको थियो ।
अनुसन्धान अधिकृतबाट सञ्चाल एवं अध्यक्ष झासँग भन्सारको प्रज्ञापनपत्र र बिलबिजक माग गर्दा सञ्चालकले देखाउन नसकेपछि उक्त औषधिहरू सबै तस्करीबाट ल्याएको अनुमान राजस्वले गरेको हो । समाचारस्रोतका अनुसार न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष रहेका झाले एक दशक अगाडिदेखि नै न्युट्रास्युटिकल आयात गरेर सप्लायर्स चलाउँदै आएको खुलेको छ । उनले साक्षी मेडिलिङमार्फत भारतबाट न्युट्रास्युटिकल सस्तोमा ल्याउने र दश गुणा बढी मूल्य तोकेर बजारमा पठाउने गरेको पनि खुलेको छ । कतिपय न्युट्रास्युटिकल क्यारिङ गरेर पनि ल्याउने गरेको जानकारहरू बताउँछन् ।
केही न्युट्रास्युटिकल भन्सारबाट राजस्व तिरेर ल्याउने गरेको भए पनि त्योभन्दा धेरै ठूलो परिमाणमा भरिया प्रयोग गरेर तस्करी गरी ल्याउने गरेको दाबी स्रोतले गरेको थियो । तस्करी गरेर न्युट्रास्युटिकल ल्याउने भरियालाई प्रहरीले पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा झाको सप्लायर्समा छापा हानेपछि म्याद सकिएको न्युट्रास्युटिकलमा पुनः नयाँ स्टिकर, उत्पादन मिति र मूल्य राखेर बजारमा पठाउने गरेको सप्रमाण फेला परेको हो । यसरी म्याद सकिएको न्युट्रास्युटिकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन केमिकल प्रयोग गर्ने न्युट्रास्युटिकलका अध्यक्ष झाले विराटनगरका ठूला अस्पतालभित्रका फार्मेसी र बाहिरका ठूला औषधि पसलमा पनि औषधि पठाउने गरेको सम्बन्ध समेत ब्यापक अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।