

विराटनगर काठमाडौं । तेस्रो मुलुकबाट आयातित भटमास, सूर्यमुखी र पाम तेलको निर्यातले चालु आर्थिक वर्षमा तेलको हिस्सा २५ दशमलव ३२ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को छ महिनामा २५ अर्ब दुई करोडको खाने तेल (भटमास, सूर्यमुखी र पाम) को निर्यात भएको पाम उद्योगीहरूले बताएका छन् । तेल भारत निर्यात गर्दा भन्सार छुट सुविधा छ । नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन गरिएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ । अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा नै बढाएका कारण तेल उद्योगीले निर्यातलाई प्राथमिकता दिएको भनाइ पाम उद्योगीको छ ।
भारतमा पाम तेल निर्यात गर्दा उद्योगीले अग्रिम भुक्तानी पनि पाउने गरेको सुुनसरी मोरङ औद्योगिक करिडोरका पाम उद्योगीले जानकारी दिए । भारत र नेपालका बीच भन्सार दर फरक छ । निर्यात गर्दा उद्योगीले केही सहुलियत पाएका कारण पनि भारतमा निर्यात गर्दा अग्रिम भुक्तानी हुने उनीहरूको भनाइ छ । तर सोही तेल नेपालमा बिक्री गर्दा ९० देखि एक सय २० दिनसम्म उधारो हुने कारणले पनि नेपाली उद्योगीको जोड भारततर्फ निर्यातमै हुने गरेको छ । भन्सार विभागअनुसार चालु वर्षको छ महिनाको अवधिमा ४० अर्ब ८४ करोड रुपैयाँको कच्चा तेल नेपाल आयात भएको छ । कच्चा तेल अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयात भएको तथ्याङ्क विभागसँग छ ।
तेस्रो मुलुकबाट कोलकाता हुँदै कच्चा पदार्थ ल्याएर रिफाइन गरी स्वदेशी मार्केट होस् या भारत तर्फको निर्यात जे गरे पनि एक सय दिन लाग्ने र सँगसँगै उद्योगीले मौज्दात पनि गर्नुपर्ने हुँदा आयातको तुलनामा निर्यात कम देखिएको उद्योगीको भनाइ छ । मुलुकमा सूर्यमुखी, तोरी, भटमाससहितको तेल मासिक करिब २५ हजार टन खपत हुने हुँदा स्वदेशी उत्पादनले नधान्ने उद्योगीहरू बताउँछन् । तेलहन (भटमास, तोरी, आलस, सूर्यमुखी) मुलुकमा वार्षिक तीन लाख आठ हजार टन (कच्चा पदार्थ) उत्पादन मात्र उत्पादन हुने हुँदा अपुग कच्चा पदार्थ उद्योगीले आयात गरेर र स्थानीय बजारबाट उठाएर भए पनि उद्योग सञ्चालन गरिरहेको उद्योगीको भनाइ छ । उद्योगीका अनुुसार देशमा उत्पादित कच्चा पदार्थ स्थानीयस्तरमै खपत हुने र ठूला उद्योगसम्म आइपुग्दैन । यसले गर्दा ठूला उद्योग सबैले कच्चा पदार्थ आयात नै गर्ने गरेको कुरा बताइन्छ ।
करिडोरका उद्योगीका अनुसार कोभिड महामारीताका तेलको भन्सार दर भारतमा ४२ प्रतिशत र नेपालमा १० प्रतिशत मात्रै लाग्थ्यो । भारतमा भन्सार महँगो भएकै कारण नेपालबाट निर्यात बढेको थियो । सन् २०२२ मा भारतले भन्सार दर घटायो । तेल भारतमै सस्तो भएपछि नेपालबाट निर्यात घट्यो । गत भदौमा भारतले फेरि भन्सार दर बढाएपछि नेपालबाट निर्यात पुनः बढ्न थालेको हो । भारतले गत भदौ १९ बाट लागू हुने गरी कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत विन्दुले बढाएको हो । भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा तेल आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । यसरी भारतमा भन्सार बढेपछि व्यवसायी निर्यातमा केन्द्रित भएता पनि आयात र निर्यातको तथ्याङ्क हेर्दा बढी मात्रामा निर्यात नै गरेको जानकारी उद्योगीले नै दिएका छन् । भन्सार विभागका अनुसार छ महिनामा १८ अर्ब ९१ करोडको भटमासको तेल निर्यात भएको छ । चालु आर्थिक वर्षको छ महिनामा चार अर्ब ९८ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ । त्यसगरी चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब १३ करोडको पाम तेल पनि निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
निकासीको हिसाबले तेलको निर्यात बढ्नु ठिकै हो । तर यो नेपालमै उत्पादन भएको वस्तु होइन । तेस्रो मुलुकबाट आयातित यी वस्तु मूल्य अभिवृद्धि गरी पुनः निर्यात गरिने गरिन्छ । नेपालकै कच्चा पदार्थमा निर्यात बढेको भए राम्रो हुन्थ्यो । यो एकनासको निर्यात पनि होइन, भारतमा भन्सार घट्दा निर्यात फेरि घट्ने कुुरा प्रष्ट भएको छ । तसर्थ, निर्यातलाई दिगो बनाउन स्वदेशी उत्पादनमै जोड दिनुपर्ने सरोकारवालाहरूको भनाइ छ । सरकारले तुलनात्मक लाभका वस्तुको निर्यातमा जोड दिनुपर्छ, प्रतिस्पर्धी क्षमता भएका वस्तुमा जोड दिनुपर्छ । यसले रोजगारी पनि सिर्जना हुने विश्वास ब्यक्त गर्न थालिएको छ ।