

विराटनगर,विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सहकारीहरू अनुत्पादक क्षेत्रमा लगानी गर्ने प्रतिस्पर्धामा उत्रिँदा डुब्न पुगेको बताएका छन् । महानगरको आयोजनामा भएको सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित नेतृत्व तथा व्यवस्थापनसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सहकारीमा कुनै समस्या नदेखिएको बताए । कोइरालाले सहकारीको मर्म र भावनाविपरीत सञ्चालन नगर्न आग्रह गरे । बचतकर्ताले जम्मा गरेको पैसा सञ्चालकहरूले घरजग्गा र गाडीलगायतका व्यक्तिगत कामका लागि प्रयोग गर्दा अहिलेको अवस्था आएको उनको भनाइ थियो । कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सहकारीको नियमन र अनुगमन आफैँले गरिरहेको पनि जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर १९ का वडाध्यक्ष समेत रहेका महानगरका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीले गरिब तथा विपन्न वर्गको जीवनस्तरमाथि उठाउने काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । अहिले आमजनताले सहकारीलाई नकारात्मकरूपमा हेर्ने गरेको उनको भनाइ थियो । उनले हाल सहकारी भनेको जनता ठग्ने संस्था हो भन्ने आम सर्वसाधारणाको धारणा नै बनिसकेको बताए । यस्ता नकारात्मक धारणा र टीकाटिप्पणीलाई चिर्न सहकारीहरू सजग हुनुपर्नेमा जोड दिए । कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, जिल्ला सहकारी संघ मोरङ अध्यक्ष डा. डिल्ली पोखरेल, नेप्स्कुन विराटनगर सेवा केन्द्रकी विन्दा भट्टराई, महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, सहकारी शाखाकी प्रमुख चाँदनी राईलगायतको उपस्थिति रहेको थियो ।
दुई दिने उक्त कार्यशाला गोष्ठीमा विराटनगर क्षेत्रभित्र सञ्चालित ३० वटा सहकारीका सञ्चालक र पदाधिकारी गरी ६० जनाको सहभागिता रहेको छ । कार्यक्रममा महानगर क्षेत्रभित्र एक सय ७२ वटा सहकारी सञ्चालनमा रहेको जानकारी दिइएको थियो । गोष्ठीमा सहकारी र व्यवसायः एक परिचय, सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली र सुशासन, सहकारीमा नेतृत्व विकास, सहकारीमा विधि निर्माण प्रक्रिया, स्व व्यवस्थापन परिचय, सकारात्मक सोच र सदाचारिता, कोपोमिसमा प्रविष्टि गर्नुपर्ने विषयहरू, वर्तमान अवस्था, चुनौती र समाधान, सहकारीमा अभिलेख व्यवस्थापन र सफ्टवेयरको प्रयोगलगायतका विषयमा विशेषरूपमा जानकारी दिइएको थियो ।