

विराटनगर । विराटनगरको रेन्बो रोडमा कुनै बेला शिखर ब्रान्डको गुट्का उत्पादन गर्ने उद्योगी भवानी बोहोराले पछिल्लो केही महिनादेखि अंशु नामको सादा कटिङ सुपारीको कारोबार गर्न थालेका छन् ।उद्योगी बोहोराले चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा मधु प्रोडक्टको नामबाट उद्योग मन्त्रालयले उपलब्ध गराएको करिब एक लाख टन सुपारी पनि सरकारी कोटाबाट आयात गरेका थिए । उक्त सरकारी सुपारीको कोटा पाएका उद्योगी बोहोराले आयात गरेको सुपारीलाई कटिङ गरी प्याकिङ गरेर अंशु ब्रान्डको सादा सुपारी बजार पठाएका छन् भने बाँकी वेस्टेज भएर फ्याल्ने अवस्थामा पुगेको सुपारीलाई मधुस्वीट सुपारीका नाममा कारोबार गर्दै आएका छन् । मधुस्वीट सुपारीमा अन्तःशुल्क लाग्ने गर्दछ भने सादा कटिङ सुपारी मात्रै पठाउँदा सरकारलाई उद्योगीले अन्तःशुल्क बुझाउनुपर्दैन ।
सुपारी आयात गर्दा नै मूअकर बुझाउनु पर्ने बाध्यकारी व्यवस्थाका कारण भन्सार विन्दुमा नै मुअकर बुझाइ सकेपछि सादा प्याकिङ सुपारीलाई पुनः कुनै कर नलाग्ने गरेको कोरिडोरका उद्योगीले जानकारी दिएका छन् । यसरी उद्योगका नाममा आयात गरिएको सुपारीबाट कमाउन पल्केका उद्योगी बोहोराले कति सुपारीमा अन्तःशुल्क लाग्ने र कति सुपारीमा अन्तःशुल्क नलाग्ने भन्ने स्वेच्छिक घोषणा नै अन्तःशुल्क असुलीको बाटो बनाएका छन् । उनले अनुमानभन्दा पनि डरलाग्दोरूपमा मधु प्रोडक्टका नाममा राजस्वमाथि खेलवाड गरेको स्रोतको दाबी छ ।
लामो समय मौन रहेर बसेका भवानी बोहरा पछिल्लो समय मधु स्वीट सुपारीसँगै अंशु सुपारी उत्पादन गर्न थालेपछि अहिले उनको कारोबार पनि बढेर करोडौंको हाराहारीमा पुगेको छ । विशेषगरी बजारमा सुपारी कारोबारीको हिसाब मिलाउने विषयमा भवानी बोहोरा अग्रपङ्क्तिमा आउने नाम हो । कोटाको सुपारी मिलान गर्न पनि बोहोराले गत असार मसान्तको मौका छोपी आफूले मधु स्वीट सुपारी बिक्री वितरण तथा उत्पादन गर्दै आएको बताएर हिसाब मिलान गरेको स्रोतको दाबी छ । अर्थतन्त्र नै धराशायी भयो भनी अनुनयविनय गर्ने उद्योगी बोहोराले दिन दुई दुना र रात चौगुनाका रूपमा कमाउने अभियान नै चलाएको स्रोतले बताउन थालेका छन् ।