

काठमाडौँ – अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन् । प्रि–बजेट छलफल कार्यक्रममा अर्थसचिव मरासिनीले सरकारको प्रमुख प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी चलायमान बनाउने रहेको बताए।
उनले विगतमा बाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भए पनि अहिले बाह्य अर्थतन्त्र सकारात्मक भएको भन्दै आन्तरिक अर्थतन्त्रमा सुधार आवश्यक देखिएको बताए । उनले सरकारसँग विदेशी मुद्रा सञ्चिति मात्रै १२ महिनाभन्दा बढी आयात र निर्यात गर्न सक्ने क्षमता रहेको बताए। अर्थसचिव मरासिनीले बजेट र मौद्रिक नीति अर्थतन्त्रमा देखिएको शिथिलतालाई चिर्न सक्ने गरी आउने दाबी गरे।
उनले सरकारले ल्याउने बजेटले अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले सोचेअनुसार आर्थिक वृद्धि गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने जिकिर गरे। उनले अहिले केही क्षेत्रगत समस्या रहेको भन्दै क्षेत्रगत समस्यालाई सुधार गर्न आवश्यक रहेको बताए। उनले जलविद्युत्मा निजी क्षेत्र प्रवेशसँगै उत्पादनमा फड्को मारेको भन्दै अब वितरण र निर्यातमा पनि फड्को मार्न सक्ने वातावरण सरकारले बनाउनुपर्ने बताए। उनले जलविद्युत् नेपालको तुलनात्मक लाभको क्षेत्र भएकाले हरित अर्थतन्त्रको रूपमा विकसित गरी बजेट तर्जुमा गरिने बताए।