

पछिल्ला केही समय यता अत्यन्त घातकरूपमा फैलिदै गएको साइबर अपराधलाई नियन्त्रण गर्नका लागि विद्यार्थीहरुलाई सचेत गराउने अभियान नै सुरू भएको छ विराटनगरको जनताआदर्श बहुमुखी क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई साइबर अपराधसम्बन्धी दुई दिने तालिम सञ्चालन गरेको हो । तालिमपश्चात विद्यार्थीहरुले साइबर अपराधका बारेमा थोरै भए पनि सैद्धान्तिक ज्ञान हासिल गरेको बताइएको छ । प्रविधिमा आएको विकासका कारण पछिल्लो समयमा बढ्दै गएको साइबर अपराधबाट विद्यार्थी र समाजलाई जोगाउने र यसको प्रभावलाई कम गर्ने उद्देश्यले क्याम्पसले तालिमको आयोजना हो । सो तालिमको बारेमा विद्यार्थीहरुबाट राम्रो रेस्पोन्स आएको कलेजले जनाएको छ ।
कोशी प्रवेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले साइबर अपराधको प्रभाव, यसको जोखिम, अनुसन्धान प्रक्रिया, कानुनी उपचार र बच्ने उपायलगायत साइबर अपराधका बहुआयामिक पक्षका विषयमा प्रशिक्षण दिएका थिए प्रशिक्षक तिम्सिनाले साइबर सुरक्षासम्बन्धी तालिम भारतमा लिएका थिए । महिला र बालबालिकाविरुद्ध हुने साइबर अपराध तथा अपराध अनुसन्धानमा लामो अनुभव भएको विज्ञ प्रशिक्षकका रूपमा तिम्सिना रहेका छन् । सामाजिक कार्य व्यावहारिक विषय भएकाले क्याम्पसले विभिन्न विषयका विज्ञ प्रशिक्षकलाई अतिथि प्राध्यापकका रुपमा ल्याएर विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आएको कलेज प्रशासनले जानकारी दिएको छ । प्रशिक्षण कार्यक्रममाएमएसडब्ल्यु तेसो सेमेस्टर, बीएस डब्ल्यु दोस्रो, तेस्रो, पाँचौं र छैटौं सेमेस्टरका विद्यार्थीहरु सहभागी थिए। पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्यअन्तर्गत बीएस डब्ल्यु र एमएस डब्ल्यु अध्यापन गराउँदै आएको छ ।