

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विरुद्ध प्रदेशसभामा अनशन गर्ने घोषणा गरेपछि स्थानीय प्रशासनले विराटनगरका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा, जुलुस, धर्ना लगायतका गतिविधिमा रोक लगाएको हो ।
आफ्नो कार्यकालमा लागू गरिएका केही कल्याणकारी योजना वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाइदिएको भन्दै पूर्व मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो ४ बजेदेखि प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका थिए । प्रशासनले मङ्गलबार दिउसो जरुरी सूचना जारी गर्दै आजै दिउँसो ३ बजेदेखि लागू हुने गरि निषेधित क्षेत्र तोकेको हो ।
प्रशासनले जारी गरेको सूचनामा कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवास वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास वरपरको ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको जनाइएको छ ।
ती क्षेत्रमा आज मङ्गलबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सर्वसाधारणको आउजाउ र सवारी साधन
बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला र्याली, धर्ना, प्रदर्शनी लगायतका विरोध जन्य कार्यहरू गर्न स्थानीय प्रशासन ऐन अनुसार निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ ।
सो आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी पनि प्रशासनले दिएको छ ।