०५ चैत्र २०८१, बुधबार

ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ

Logo
संवाददाता आइतबार, भाद्र ३०, २०८१

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा लामो समयदेखि चलिरहेको अवैध जुवा खालमा प्रहरीले शनिबार राति छापा हानेको छ । कटहराको बाँसघारीभित्र संचालित जुवा खालमा राति ८ बजेतिर छापा हानेर प्रहरीले गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट साढे १८ लाख रूपैयाँभन्दा बढी नगद बरामद भएको छ । उक्त ‘बाह्रमासे’ खालमा मधेस प्रदेशको महोत्तरी, कोशी प्रदेशकै धरान, दमक, दुहबीलगायतका स्थानमा घर भएकाहरु पनि जुवा खेल्न पुग्ने गरेको पाइएको छ ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् ।

पक्राउ पर्नेमध्ये शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । पक्राउ पर्ने अन्य व्यक्ति पनि प्रतिष्ठित र धनाड्यहरु रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हरैँचा तथा बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले जुवा खालमा छापा हानेको थियो ।

लामो समयदेखि जुवा खाल चलिरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले संयुक्त रूपमा टोली परिचालन गरेका थिए । एसपी कार्कीका अनुसार पक्राउ परेकाको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको जानकारी उनले दिए ।

पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार कानुनी कारबाही अघि बढाउने प्रहरीको तयारी छ । प्रहरीलाई छलेर ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र केही वर्षयता नियमित जुवा खाल संचालन गरिँदै आएको थियो ।

जुवा खाल कसले संचालन गरेको थियो भनेर यकिन भइसकेको छैन । उक्त खाल ‘बाह्रमासे’ जुवा खालका रूपमा परिचित थियो । प्रहरीले लामो समयदेखि नियन्त्रणमा लिने प्रयास गरिरहे पनि सम्भव हुन सकिरहेको थिएन । जुवाको खालबाट पक्राउ परेका नेकपा एमाले निकट पुर्व अध्यक्ष शिवनारायण माझी गत निर्वाचनमा ग्रामथानमा पराजित भएका थिए ।

प्रहरीका अनुसार जुवा खाल वरपर निगरानी गर्नका लागि खाल संचालकले तेतरिया बजारलगायतका विभिन्न स्थानमा पैसा दिएर मानिस खटाउने गरेका थिए । प्रहरी आउनसाथ निगरानीमा खटिएका व्यक्तिहरुको सूचनामार्फत जुवा खाल उठाएर जुवाडेहरु फरार हुने गरेका थिए ।

यसअघि पनि प्रहरीले जुवा नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, प्रहरीलाई परै देख्नासाथ खालबाट फरार भएका कारण जुवाडे पक्राउ परेका थिएनन् । शनिबार राति भने अर्कै बाटो प्रयोग गरेर पुगेको प्रहरी टोली छापा हानेर जुवा खेलिरहेकाहरुलाई ठूलो रकमसहित पक्राउ गर्न सफल भएको एसपी कार्कीले बताए ।

छापा हान्ने क्रममा केही व्यक्ति फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुवा खाल कसले संचालन गरिरहेको थियो भन्ने यकिन छैन । ‘घरमा भएको भए घरधनीलाई पक्राउ गर्न हुन्थ्यो । बाँस झ्याङमा भएकाले कसले संचालन गरेको थियो भनेर खुलाउन गाह्रो भइरहेको छ । पक्राउ परेकाहरुले केही बताउन मानेका छैनन् । आफैं मिलेर खेलेको मात्रै भन्छन् । अनुसन्धानपछि थप कुरा खुल्दै जान्छ,’ एसपी कार्कीले भने ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१