

विराटनगर । विराटनगरका उद्योगी ब्यवसायीहरुले सरकारको नितिले गर्दा आर्थिक क्षेत्र चलायमान नभएको बताएका छन् । विराटनगरको आन्तरिक राजश्व कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार आयोगद्वारा आइतबार आयोजित अन्र्तरक्रिया कार्याकममा सरकारले उद्यागी र युवाशक्तिलाई अबसर नदिएको बताएका हुन ।
अन्र्तक्रियामा उद्योगी महेश जाजुले सरकारलाई सुझाव दिदाँ थाकिसकेको बताएका थिए। उनले भने, ‘आर्थिक सम्बृद्धिको विषयमा सरकारलाई सुझाव दिनु भएको अध्यारोमा ढुंगा हाने जस्तो भइसकेको छ। हामी सुझाव दिन्छौ तर सरकार कार्यान्वयनमा आउन चाहदैन। सरकारले विदेशी मुद्राको संचिती बढेर अर्थतन्त्रमा सुधार आएको जनाउँछ, तथ्यांक देखाउछ। तर खै सरकारले भने जस्तो कुरा वास्तविकतामा भने देखिदैन।’
त्यसैगरि, कार्यक्रममा मोरङ उद्योग ब्यापार संघका पूर्व अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाले उद्योगको विस्तारमा सरकारको नीतिले काम नगरेको बताएका थिए। उनले मुलुकको आर्थिक बृद्धिलाई सरकारको नीतिले नै अवरोध गरिरहेको बताए।
आयोगलाई सुझाव दिदैं उनले भने, ‘सरकारले अपनाएको नीतिले आर्थिक गतिलाई अवरोध बनाइरहेको छ। युवाशक्तिलाई स्वदेशमा नै रहेर काम गर्ने वातावरण बनाउनुपर्यो।’ मुन्दडाका अनुसार युवा शक्तिको विदेशिने क्रमले मुलुकको आर्थिक क्षेत्र थप प्रभावित हँुदै गएको छ।त्यसैगरी, छलफलमा उद्योगीले खुला सीमा क्षेत्रबाट हुने गरेको तस्करी र अवैध आयातलाई नरोकेसम्म समस्या कायम रहने बताएका थिए।