

विराटनगर,विराटनगरका सिमेन्ट व्यापारीहरूले दैनिकरूपमा सिमेन्टको मूल्यवृद्धि गर्ने गरेको पाइएको छ । व्यवसायीहरूले पछिल्लो हप्तामा मात्रै सिमेन्टमा प्रतिबोरा एक सयदेखि एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका हुन् ।सिमेन्ट उद्योगी र व्यापारी दुवैको मिलेमतोमा मूल्यवृद्धि गरेको यहाँका सरोकारवालाहरू बताउँछन् । सिमेन्टको मागमा वृद्धि आएपछि उनीहरूले कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गरेका हुन् । नेपाली उत्पादन त्रिशक्ति सिमेन्ट, होङ्सी सिमेन्ट र सूर्या सिमेन्टका आधिकारिक विक्रेता नै कम्पनीले मूल्यवृद्धि गरेको भन्दै दैनिक २५ रुपैयाँका दरमा सिमेन्टको मूल्यवृद्धि गर्न थालेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् । यस्तै, सालिमार सिमेन्टमा पनि एक्कासी मूल्यवृद्धि भएको छ ।
एक हप्ता अगाडिसम्म प्रतिबोरा छ सय ५० रुपैयाँमा बिक्री हँुदै आएको सिमेन्ट अहिले सात सय ५० रुपैयाँ पुगेको छ । हार्डवेयरका व्यापारीहरू अहिले बजारमा विभिन्न सामानका मूल्यवृद्धि गर्ने सवालमा अग्रपङ्क्तिमा रहेका छन् । साथै, उनीहरूले भ्याट बिल पनि नदिने गरेको उपभोक्ताहरूको गुनासो छ । पूर्वी क्षेत्रमा सिमेन्टको व्यापारमा एकाधिकार जमाउँदै आएको मारुती सिमेन्टको मूल्य झन् दुई सय रुपैयाँले वृद्धि भएको छ । कालोबजारी गर्न पल्किएका व्यापारीले विगतमा आफैँ कम मूल्यमा बेचेको सिमेन्टलाई अहिले पुनर्निर्माण सुरु भएपछि इन्धन अभाव र ढुवानीमा भाडाको वृद्धिलाई बहाना बनाएर कालोबजारी गरेर मूल्य बढाएका हुन् । व्यापारीलाई आवश्यक पर्ने इन्धन नेपाल आयल निगमले सहजरूपले उपलब्ध गराएको छ । यसका बाबजुद पनि निर्माण कार्य सुरु हुनासाथ सिमेन्ट व्यापारीले अनेक बहानामा मूल्यवृद्धि गर्ने गरेका छन् ।
हाल कुनै सिमेन्ट उद्योगले मूल्यवृद्धि नगरेको एक सिमेन्ट उद्योगीले दाबी गरे । व्यापारीले उद्योगको नामबाट अनेक बहाना बनाएर बजारमा मूल्यवृद्धि गर्नु राम्रो कुरा नभएको उनको भनाइ थियो । बजारको अनुगमन गर्ने ठेक्का पाएको वाणिज्य कार्यालय पनि कालोबजारीको चङ्गुरमा परेर संलग्न व्यापारीलाई कारबाही गर्न नसकेको ती उद्योगीले बताए । एकातिर उद्योगले सिमेन्टको मूल्यवृद्धि नगरेको दाबी गर्ने ती उद्योगी स्वयंले उद्योगको नाफा भन्दै करोडौं रुपैयाँ बोनस वितरण गरेका छन् । ती उद्योगीले व्यापारीसँग मिलेर कालोबजारी गरी कमाएको पैसालाई बोनसका रूपमा वितरण गरेको समाचार स्रोतको दाबी छ ।