

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघको दोस्रो साता आयोजना गर्न लागेको लगानी सम्मेलनलाई यहाँका केही उद्योगी व्यवसायीहरूले बहिस्कार गर्ने चेतावनी दिएका छन् ।कोशी प्रदेश सरकारले आगामी माघमा पहिलो प्रदेश लगानी सम्मेलन आयोजना गर्दैछ । तर व्यवसायीहरूले प्रतिनिधित्व गरेका प्रतिनिधिमूलक संघसंगठनहरू भने सम्मेलनको पूर्वसन्ध्यामा विभाजित बनेका छन । केही उद्योगीहरूले मुख्यमन्त्रीलाई साझा ठाउँमा सम्मेलन नगरे बहिष्कार गर्ने धम्की दिन थालेका हुन् ।
प्रदेश सरकारले गत असोजको मन्त्रिपरिषद् बैठकबाटै आगामी माघ ११ देखि १३ गतेसम्म विराटनगरमा प्रथम कोशी प्रदेश लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले त्यसको सबै जिम्मेवारी निजी क्षेत्रका उद्योगीहरूले प्रतिनिधित्व गर्दै आएको उद्योग संगठन मोरङलाई दिएको छ । उद्योग संगठन मोरङलाई मात्रै जिम्मेवारी दिएको भन्दै निजी क्षेत्रका अन्य संघसंस्थाहरूले आफूहरूलाई प्रदेश सरकारले अवमूल्यन गरेको गुनासो गर्न थालेका छन् ।
सरकारले कुनै एक अमूक संस्थालाई मात्रै काखी च्यापेर सम्मेलन आयोजना गर्न खोजे निजी क्षेत्रका अरू संस्थाहरूले सामूहिकरूपमा बहिष्कार गर्नुको विकल्प नरहेको यहाँका एक उद्योगी बताउँछन् । सरकारले बेलैमा आफ्नो रवैया नसच्याए लगानी सम्मेलन नाम मात्रैको हुने उद्योगी व्यवसायीको भनाइ छ । सरकारले सबै निजी क्षेत्रलाई समान व्यवहार गर्नुपर्ने उनीहरूको माग छ । यता लगानी सम्मेलनका लागि प्रदेश सरकारले भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघलाई सह–संयोजक र मन्त्रीहरूलाई सदस्यमा राखेर मूल आयोजक समिति गठन गरेको जनाएको छ ।
मुख्यमन्त्री कार्यालयले प्रदेशमा निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न र स्वदेशी तथा विदेशी लगानीकर्तालाई भित्र्याउन सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिएको छ ।उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले यसबेला विराटनगरका उद्योगीले आपसमा तिक्तता नदेखाई लगानी सम्मेलनलाई अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताए । उनले यो विराटनगरको औद्योगिक क्षेत्रको प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै अहिलेको शिथिल आर्थिक अवस्थामा एकले अर्कासँग हातेमालो गरेर अगाडि बढनुपर्नेमा जोड दिए । सरकारको लगानी सम्मेलन नै विवादमा पार्ने प्रयत्न गर्ननहुने उनको भनाइ छ । लगानी सम्मेलनको मुख्य उद्देश्य प्रदेशमा लगानीको वातावरण सिर्जना गर्नु र प्रदेशमा औद्योगिक वातावरण बनेको सन्देश दिने रहेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलन गर्ने उल्लेख गरेको छ ।
प्रदेशको लगानी प्राधिकरणले लगानी सम्मेलनको समन्वय र सहजीकरण गरेर लगानीका क्षेत्रहरू तय गर्ने बताइएको छ । यसका लागि प्रदेश सरकारले करिब तीन करोड बजेट विनियोजन समेत गरेको छ । सार्वजनिक निजी साझेदारी मोडलको लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेशको विकासमा सक्दो सहभागी गराउने उद्देश्यले प्रदेश सरकारले लगानी सम्मेलनको व्यापक तयारी गरेको बताइएको छ ।