

विराटनगर । विराटनगर घोषणापत्र जारी गर्दै ‘नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टमको परिकल्पना’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बाल अधिकार महासन्धि १९८९, संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्य २०३०, मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ लाई आत्मसात गर्दै नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको प्रारम्भिक बाल विकासको मौलिक अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्घता गर्दै सम्पन्न भएको हो । सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा प्रभावकारीरूपमा कार्यान्वय गर्ने घोषणापत्रमा संकल्प गरेको छ । संघीय, प्रादेशिक र स्थानीय सरकार तथा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरी प्रारम्भिक बाल विकाससम्बन्धी प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यको नेतृत्व लिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्रमा प्रारम्भिक बाल विकासको बहुआयामिक पक्षलाई प्राथमिकता दिँदै नीति एवम् कार्यक्रमका पक्षमा वकालत तथा सहकार्य गर्ने प्रतिबद्धता पनि गरिएको जनाइएको छ । त्यस्तै, प्रारम्भिक बाल विकाससम्बन्धी नवीनतम सोच, प्रविधि र ज्ञानको प्रवद्र्धन गर्न स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडीलगायतका शैक्षिक कार्यक्रममार्फत दक्ष मानव स्रोत विकासमा अग्रणी भूमिका खेल्ने र विश्वविद्यालयमा एक अन्तर्राष्ट्रियस्तरको प्रारम्भिक बाल विकाससम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरिएको भनाइ पूर्वाञ्चल विश्वविद्यालयको छ । गत हप्ता मात्रै पूर्वाञ्चल विश्वविद्यालय कला संकायले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
सम्मेलनमा साढे तीन दर्जन बढी अनुसन्धानात्मक लेख प्रस्तुत भएका थिए । मुख्यवक्ताको रूपमा प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डाक्टर मिनाक्षी दाहाल, डाक्टर अरुणा उप्रेती, किर्सटेन हुगेन, प्राध्यापक लोरेन वेब्राइटले प्रारम्भिक बाल विकास र यसको इकोसिस्टमका विषयमा मन्तव्य राख्नुभएको थियो । १२ वटा सत्रमा प्रारम्भिक बाल विकास इकोसिस्टमको विषयमा विज्ञहरूले छलफल गरेका थिए । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स, अमेरिका, बेलायतलगायतका देशबाट आएका प्राध्यापक, शिक्षक, अनुसन्धाता, विषयविज्ञ, चिकित्सक, विद्यार्थीसहितका विज्ञहरूको सहभागिता रहेको थियो ।