

विराटनगर । नवौं संस्करणकोे रमपम विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी भएको जानकारी दिएको हो ।‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने मूल नाराका साथ आज सोमबारदेखि सो प्रतियोगिता विराटनगरको सहिद रंगशाला मैदानमा हुँदैछ ।
फागुन २८ गतेसम्म हुने प्रतियोगितामा १० वटा फुटबल टिमले भाग लिनेछन् । भारतका दुई वटा र नेपालबाट विभागीयसहित आठ टिमहरू सहभागी हुने विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले जानकारी दिए । प्रतियोगिताको विजेतालाई नगद ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, उपविजेतालाई नगद पाँच लाख रुपैयाँ, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद १५र१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने रिजालले बताए । उनका अनुसार दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ र सर्वोकृष्ट खेलाडीलाई नगद ५१ हजार रुपैयाँ पुरस्कार दिने निर्णय समेत गरिएको छ ।प्रतियोगितामा दर्शकहरूको आकर्षण बढाउन दैनिक प्रतियोगिता हुनुभन्दा अघिदेखि राष्ट्रियस्तरका कलाकारबाट सांस्कृतिक कार्यक्रम, दर्शकमध्येबाट दैनिक फेस अफ द विराट गोल्डकप छनौट गरी ताज पहिरिने र गिफ्टको व्यवस्था, टिकटक बनाई फेसबुकमा अपलोड गर्ने उत्कृष्ट टिकटकरलाई १० हजार रुपैयाँ नगद पुरस्कार, दुई सय रुपैयाँको टिकट किन्दा दुई हजार रुपैयाँभन्दा बढी छुटको मज्जालगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोग कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ, मोरङ उद्योग व्यापार संघले गरेका छन् । यस्तै प्रतियोगिताको टाइटल स्पोन्सर रमपम चाउचाउ रहेको छ भने गोल्ड स्पोन्सरमा छ वटा, सिल्भर स्पोन्सरमा ११ वटा, पावर वाइ एनसेल, बैंकिङ पार्टनरमा तीन वटा, इन्स्योरेन्स पार्टनरमा एक वटा, पार्टनर्समा छ र मेडिकल पार्टनर न्युरो हस्पिटललगायतका संघसस्था रहेका छन् । प्रतियोगिता सञ्चालनका लागि कुल एक करोड ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।