
विराटनगर, कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीलाई दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले रु आठ करोड ६० लाख थप निकासा गर्ने निर्णय गर्दै बिरामीलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीका अनुसार यसपटकको सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भिन्न ढङ्गबाट सहयोग नीति अपनाइने भएको छ ।
यसैगरी यही फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गर्ने सम्बोधनको तयारीका लागि प्रदेशसभालाई अनुरोध गर्ने निर्णय बैठकले गरेको प्रवक्ता भण्डारीले जानकारी दिए। बैठकले प्रदेशसचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा र सचिव पवनकुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाज गर्न खटाउने निर्णय गरेको छ । यसैगरी धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने र कोशी पर्यटन वर्षका लागि विनियोजित गरेको रकमको स्रोतगत बाँडफाँट गर्ने निर्णयसमेत भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।