

विराटनगर । प्रगतिशील लेखक सङ्घ मोरङको नेपालको अधिवेसन सम्पन्न भएको छ । ,शाखाको एघारौँ जिल्ला अधिवेशन सुन्दरहरैँचा नगरपालिकामा अवस्थित सुकुना बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ, कोशी प्रदेशकी अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनमा प्रलेस मोरङका संस्थापक अध्यक्ष एकराज भट्टराई, पूर्व अध्यक्षहरू मोहन काफ्ले, भानु भण्डारी, वरिष्ठ साहित्यकारहरू हर्कमान तामाङ, मेदिनीप्रसाद बराल, प्रा.डा. हरिहर भण्डारी, मधु पोखरेल, गोपाल निर्भिक, राजेन्द्र सर्वहारा, ओम श्रमिक, शिवनारायण पण्डित सिङ्गल, कविता केसरी, राम खरेल, विमला पोख्रेल, खगिन्द्र खुसी, रमेश निरौला र दिप मङ्ग्राती लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनले केरावारी गाउँपालिकामा रहेर साहित्य साधना गरिरहनुभएका साहित्यकार यज्ञराज ‘सुसेली’ को अध्यक्षतामा पछि थप गर्नेगरी गठित तेह्र सदस्यीय समितिको गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल (उर्लाबारी), सचिवमा नानुमैया दाहाल (विराटनगर), सहसचिवमा भवानीप्रसाद पोखरेल (विराटनगर), कोषाध्यक्षमा शैलेन घिमिरे ‘शैलेन्द्र’ (विराटनगर) र सदस्यहरूमा सञ्जीव तिम्सिना (उर्लाबारी), भीम कोइराला (बुढीगङ्गा), उमा गुरागाई (सुन्दरहरैँचा), यज्ञ परिश्रमी (उर्लाबारी), शारदा दाहाल भण्डारी (बेलबारी), अञ्जली कठायत (बेलबारी), दुर्गा खरेल (सुन्दरहरैँचा) र शान्ता कर्ण (विराटनगर) रहेका छन् ।
अधिवेशनमा प्रमुख अतिथी प्रगतिशील लेखक संघ, कोशी प्रदेशकी अध्यक्ष तीला लेकालीले प्रगतिशील लेखक संघमा आवद्ध लेखकहरुको रचना माम्र्सवादी सौन्दर्य चिन्तनसँग जोडिएको लेखन भएको उल्लेख गर्दै यस संघमा आवद्ध लेखकहरुको कलमले समाजको अग्रगामी रुपान्तरणमा ठोस भूमिका निर्वाह गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले एकता नै बल भएकोले सबैजना मिलेर एकतावद्ध रुपमा अगाडि बढ्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।
त्यसैगरी निर्वाचन मण्डलका प्रमुख वरिष्ठ साहित्कार नेपालका वामपन्थी दलहरू कहिले मिल्ने त कहिले एक अर्कालाई शत्रुतापूर्ण व्यवहार गर्दै आइरहे तापनि प्रलेसले नेपाली प्रगतिवादी लेखकहरूलाई सधैँ एकै ठाउँ उभ्याएको गर्बिलो इतिहासको स्मरण गराउँदै आगामी दिनमा यसको भूमिकालाई अझ दर्बिलो र प्रभावकारी बनाउने जिम्मेवारी नयाँ समितिको काँधमा आएको छ उल्लेख गर्दै नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
अधिवेशनमा निबन्धकार दुर्गा खरेल ‘दीपज्वाला’ को १० ओटा निबन्धहरूको सङ्ग्रह ‘विश्वमानव’ को समेत लोकार्पण भएको थियो । प्रमुख अतिथिलगायतबाट सामूहिक रुपमा लोकार्पित उक्त कृतिको समीक्षा साहित्यकार केशु विरहीले गर्नुभएको थियो । त्यस्तै अधिवेशनका सहभागीहरुले क्यान्सरको चौथो चरणको आक्रमणसँग सङ्घर्षरत झापाका प्रगतिशील लेखक ज्ञानु बुढाथोकीलाई सहयोग पुगोस् भन्ने हेतुले उहाँबाट लिखित उपन्यास ‘याङरुप’ खरिद गर्नुभएको थियो । अधिवेशनको खुल्ला सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष विदुर सुवेदी र सञ्चालन सचिव धनजित पराजुलीले गर्नुभएको थियो भने बन्दसत्रको सञ्चालन जेबी थुलुङ र मायामितु न्यौपानेले गर्नुभएको थियो ।