
विराटनगर । विराटनगरमा ढाका महोत्सव सुरु हुने भएको छ । बिहीबारदेखि विराटनगरमा तीन दिने ढाका महोत्सव सुरु हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले बताएको छ ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतका अनुसार महिला उद्यमीको क्षमता अभिवृद्धि सँगै कोशी प्रदेशमा संचालनमा रहेको ढाका उद्योगलाई संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गर्न लागिएको जानकारी गराए ।
विराटनगरको जैन श्वेताम्बर तेरापंथ सभा भवनको प्राङ्गणमा आयोजना गर्न लागिएको ढाका महोत्सव तीन दिनसम्म चल्ने छ । चैत ७, ८ र ९ गतेसम्म चल्ने ढाका महोत्सवमा कोशी प्रदेश भरी संचालमा रहेका ढाका उद्योगबाट उत्पादित कपडाको प्रदर्शनी र बिक्री हुनेछ ।कोशी प्रदेशका पहाडी जिल्ला तेह्रथुम ढाका कपडाकालागि प्रसिद्ध मानिन्छ । पछिल्लो समय मोरङ, सुनसरी र झापामा पनि ढाका उद्योग खुलेका छन् । महोत्सवमा ढाका कपडाका डिजाइन, हस्तकला सम्बन्धी प्रतियोगिता गराइने छ । महोत्सवमा ढाका पोसाकमा फेशन सोको समेत आयोजना गरिने छ ।कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकाले प्रवर्द्धक गरेका छन् ।