

विराटनगर । भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले नेपालबाट निर्यात हुने प्लाइउडमा बीआईएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) आदेश जारी नहुने निर्णय गरेसँगै बन्द रहेको नेपाली प्लाइउडको निकासी सुरु भएको छ ।केही समयअघि मन्त्रालयले राजपत्रमा नै उल्लेख गरेर नेपाली ठूला उद्योगका नाममा सन् २०२५ फेब्रुअरी २८ देखि गुणस्तर चिह्नसम्बन्धी आदेश लागू हुने र साना तथा मझौला उद्योगका हकमा २०२५ को मई २८ र लघु उद्योगका नाममा २०२५ को अगस्त २८ देखि बीआईएस आदेश लागू हुने भन्दै नेपाली प्लाइउडको भारत निकासी बन्द गरेको थियो । तर हालै सो मन्त्रालय नै राजपत्रमा अकोए सूचना प्रकाशित गरेर बीआईएस आदेश जारी नहुने जनाएको छ । उक्त निर्णयसँगै करिब एक महिना बन्द भएको नेपाली प्लाइउडको भारत निकासी पुनः सुरु भएको छ ।
भारततर्फ निर्वाधरूपमा प्लाइउडको निकासी सुरु भएसँगै नेपाली उद्योगीहरूबाट हुने अन्डरविलिङको डरलाग्दो खेल पनि सुरु भएको उच्च स्रोतले बताएको छ । कोरिडोरका केही उद्योगीले अन्डरविलिङको खेलबाट विगतदेखि नै राम्रो कमाइ गरिरहेका छन् । उनीहरूले राजस्वका उच्च पदस्थ कर्मचारीसम्म मिलाएर भारततर्फ प्लाइउडको निकासी गर्ने गरेका छन् । कोरिडोरका प्लाइउड उद्योगीका अनुसार नेपालबाट भारततर्फ प्लाइउड, प्लाइबोर्ड र प्लाइका ढोका निकासी हुँदै आएको छ । भारतले नेपाली प्लाइउडको निकासी खोलेसँगै अब नेपालबाट ६० प्रतिशत प्लाइउड, २०–२० प्रतिशत बोर्ड र ढोका निकासी हुने जनाइएको छ । नेपाल र भारतबीच सन् २००१ मा भएको व्यापारिक सन्धिबमोजिम नेपालबाट भारततर्फ निर्यात हुने प्लाइउडलाई भारतीय पक्षले निर्वाधरूपमा विराटनगर भन्सार नाकाबाट निकासी सुरु गरेको नेपाली उद्योगीले जानकारी दिएका छन् ।
सन्धिमा नेपालका लघु, साना तथा मझौला उद्योगलाई भारतले पनि लघु, साना तथा मझौला उद्योगका रूपमा मान्यता दिने उल्लेख गरिएको थियो । तर पछिल्लो समय भारतीय भन्सारका कर्मचारीले सन्धिको मर्मलाई नबुझ्दा निर्वाध निकासी हुँदै आएको प्लाइउड गुणस्तर चिह्नको बहाना बनाएर भारतले अवरुद्ध गर्ने गरेको छ । करिब ७० प्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित नेपालमा ७५ वटा प्लाई उद्योग सञ्चालनमा छन् । तीमध्ये कोशी प्रदेशमा ३४ वटा छन् । ३४ वटा उद्योगले चालु वर्षको माघ मसान्तसम्ममा चार अर्ब ७० करोड मूल्य बराबरको प्लाइउड निकासी पनि गरेको कुुरा बताइएको छ । गत वर्ष यही अवधिमा दुई अर्ब १६ करोड मात्रैको प्लाइउड निकासी भएको थियो ।
काठको पत्ता (भेनियर) बाट तयार पारिने प्लाइउड खासगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउन प्रयोग गरिन्छ । यो नरम प्रजातिका र छिटो वृद्धि हुने कुकाठ, उत्तिस, कदम, आँपलगायतका प्रजातिका रुखबाट उत्पादन गरिन्छ । यहाँ उत्पादित प्लाइउड भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशलगायतका जिल्लामा धेरै खपत हुने गरेको भनाइ सुनसरी मोरङ औद्योगिक कोरिडोरका प्लाइउड उद्योगीको छ ।