नितिन आचार्य, काठमाण्डौ ।
राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आज संसदमा बजेट पेश गर्नु भएको हो ।
जसमा सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको तुलनामा ६.२% ले धेरै हो ।
कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।
कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ अर्ब २७ करोड रूपैयाँ विनियोजन रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने तयारी रहेको छ ।
साथै, आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड संकलन गर्ने लक्ष्य रहेको छ ।
त्यस्तै सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ र मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ ।