बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्दै पहिलो चरणको काम चैत महिनाभित्रै सम्पन्न हुने बताउनुभएको छ ।
कोशी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको यस परियोजनाको पहिलो चरणको काम तीव्र गतिमा भइरहेको छ । २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको यस सेन्टरमा १ सय ७५ वटा बस पार्क गर्ने क्षमताको पार्किङ स्थल, पेट्रोल पम्प, चालकहरुका लागि विश्रामस्थल, स्विमिंग पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टूरेन्टलगायतका सुविधाहरु समावेश हुनेछन्
I
मुख्यमन्त्री कार्कीले स्थानीयवासीको सहयोगका कारण परियोजनाको काम सहज रुपमा अगाडि बढिरहेको बताउँदै दोस्रो चरणको काममा पनि स्थानीयवासीको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले सबैको साथ सहयोग रहेमा परियोजनाका सम्पूर्ण काम तीन वर्षभित्रै पूरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
परियोजनाको पहिलो चरणका लागि ५७ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको भए पनि ३० करोड ४३ लाखमा सम्झौता भएको छ । सम्पूर्ण परियोजनाका लागि २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । अनुगमनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री जगदिशप्रसाद कुसियैतले परियोजनाका विषयमा र स्थानीयवासीका समस्याहरुका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो । अनुगमन टोलीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा, सचिव अशोक साह तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।