

विराटनगर बैशाख २४ । विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्देृश्यका साथ चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झोता गरेको कोशी एन के मोटर्स प्रा.लिले एक वर्षभित्रै उत्पादन शुरु गर्ने बताएको छ ।
कोशी एन के मोटर्स कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्ष भित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट काम गरिने बताउनुभयो । उहाँले सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पादन हुने र क्रमशः सबै किसिमका सवारी साधन उत्पादन गरिने जानकारी दिँदै कम्पनी स्थापनाको लागि काम तिब्र गतिमा अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो,‘लगानी कोशी एन के मोटर्सले नै गर्ने हो, चिनीयाँ कम्पनीले हामीलाई प्राविधिक सहयोग गर्ने हो । त्यस कम्पनीका पार्टस् तथा आवश्यक कच्चा पदार्थ हामीले खरिद गर्ने तथा दुई वर्षसम्म दक्ष प्राविधिक हामीलाई सहयोग गर्ने सम्झौता भएको हो ।’
उहाँले नेपालमा उत्पादन हुने सवारी साधन नेपाली ब्राण्डकै हुने समेत जानकारी दिँदै यसलाई नेपालको उत्पादन भनेर सबैले गौरव गर्नसक्ने बताउनुभयो । नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ १७ बैसाखमा कोशी एन के मोटर्स प्रा.लि र चाईनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बिच द्धिपक्षीय सम्झौता भएको थियो । कोशी एन के मोटर्सले मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा कम्पनी सञ्चालको तयारी गरेको छ । सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने जनाएको छ ।